घरै छेउमा
मेरी छोरीको स्कुल छ
त्यही बाटोबाट हरेक दिन हिंड्दै गर्दा
मलाई ति स्कुले नानीहरुको खैलाबैलाको न्याश्रो लागिरहेको छ।
आज मलाई
मेरो आत्मिय मित्रसॅंग
छेउको क्याफेमा पुगेर एक कप कफी पिउंन मन छ।
हरेक शुक्रबार
घर फर्कनु अगाडि
मेरा सहकर्मीसॅंग एक पेग चिसो बियर पिउंन मन छ।
आज मलाई
मेरा छिमेकीसॅंग,अगेनुको छेउमा
मध्यरातसम्म
टोलदेखि मंगल ग्रहसम्मका गफ गर्न मन छ।
रंगशाला पुगेर
चिच्याउंदै फुटबल हेर्न मन छ,
ति हिमालका टाकुरीमा
एक पल्ट भएपनि टेक्न मन छ,
जतिसुकै भीड किन नहोस्,
थिएटरमा गएर नयां चलचित्र हेर्न मन छ।
आज मलाई
भर्खरै क्यान्सर जितेर मेरो अगाडि हर्षको आंखाले हेर्ने त्यो बिरामीलाई
बेस्सरी अंकमाल गर्ने मन छ।
सदैव मुस्कुराइरहने मेरा सहकर्मीका शालीन अनुहार,
बिना मुखुन्डो हेर्न मन छ।
जब यो संसार खुल्छ
जब यो संत्रास सकिन्छ
म आशा गर्छु
तपाईं जे जस्तो बन्ने आदर्श कल्पना गर्नु हुन्थ्यो
त्यो भन्दा अझै सुन्दर
त्यो भन्दा अझै शिव
संसार हेर्ने मन छ।
अहिले त सिर्फ हलाहल देखिएको छ
अब मात्र अमृत पिउंन मन छ
सबै मान्छे भित्र एउटा
सूक्ष्म नीलकण्ठ देख्न मन छ!
सबै मान्छे भित्र एउटा
सूक्ष्म नीलकण्ठ देख्न मन छ!!